एनसेलले १२ दिनभित्र राजश्व नबुझाए लाइसेन्स रद्द हुने सम्भावना, मोबाइल प्रयोगकर्ताको कल के हुन्छ ?

२०८१ भदौ ०४ गते

एनसेलले १२ दिनभित्र राजश्व नबुझाए लाइसेन्स रद्द हुने सम्भावना, मोबाइल प्रयोगकर्ताको कल के हुन्छ ?

काठमाडौँ । आगामी भदौ १६ गतेबाट देशकै ठूलो मोबाइल सेवा प्रदायक एनसेल कम्पनी खारेज हुने सम्भावना बढेको छ । यदी यसो भएमा एनसेलका १ करोड २९ लाख बढी मोबाइल फोन प्रयोगकर्ताको कल बन्द हुने जोखिम बढेको छ ।

मोबाइल सेवा प्रदान गर्ने कम्पनीहरुको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई यसअघि पटक पटक राजश्व दाखिला गर्न निर्दशन दिँदै आएको भएपनि कम्पनीले भदौ यो राजश्व नियम विपरित माग गरिएको भन्दै तिर्न राजी भएको छैन । एनसेलले सरकारलाई २३ अर्ब तिर्न बाँकी छ । त्यतिमात्र होइन सरकार र एनसेल कम्पनीबीच भएको सहमति अनुसार उक्त रकम तिरेर ५ वर्षपछि एनसेल कम्पनीको सबै सम्पत्ती सरकारको नाममा पास गरिदिने लिखित निवेदन दिएको अवस्थामा मात्रै एनसेलको लाइसेन्स जोगिने अवस्था छ । तर कम्पनी यो मान्न तयार छैन ।

Advertisement:

Ad
Ad

घट्दो ब्यापार र खुम्चँदो नाफालाई देखाएर एनसेलले एकै पटक यति ठूलो धनराशी तिर्न असमर्थता देखाएको छ । उसले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग किस्ताबन्दीको सुविधा मागेर राजनीतिक लबिङ गरिरहेको छ ।एनसेलको नविकरण गर्न अब जम्माजम्मी १२ दिन मात्र बाँकी छ । सरकारले यसबारे एनसेलसँग थप पहल गरिरहेको देखिँदैन । यदी १२ दिन भित्र एनसेलले उक्त रकम नतिरेको खण्डमा नविकरण नहुने र लाइसेन्स रद्द हुने सम्भावना प्रवल देखिएको छ ।

प्राधिकरणले भने दूरसञ्चार सम्बन्धी कानुनमा किस्ताबन्दीको व्यवस्था नभएको भन्दै त्यस्तो सुविधा दिन नसकिने धारणा राख्दै आएको छ । यस्तो अप्ठेरो परिस्थितिमा के कसरी बाटो फुकाउने भन्ने स्पष्ट आधार तय गर्न सरकारले ढिलाइ गरिरहेको छ । यही कारण लाखौँ नागरिकको हातमा भएको मोबाइल सेवा अव के हुन्छ भन्ने प्रश्न उब्जिएको हो ।