२०८० चैत २८ गते
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले वर्तमान सरकारले अर्थतन्त्र लयमा रहेको जिकिर गरिरहेपनि सो अनुरुप नरहेको तर्क गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा पूर्वअर्थमन्त्री डा। महतले आफू अर्थमन्त्री भइरहँदा दुई महिना अघि १० प्रतिशतले वृद्धि भइरहेको राजश्व ७ प्रतिशतमा झरिसकेको बताएका हुन् ।
उनले सरकार निजी क्षेत्रमैत्री भएर अघि बढ्नपर्ने धारणा अघि सार्दै ०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्वपूर्ण रहेको बताए । निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने कांग्रेसको नीति थियो, त्यसले नेपालको आर्थिक वृद्धिलाई अर्को स्तरमा पुर्याएको हो, उनले भने, ‘नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको टोकन सहभागिता थियो, खास गरेर आयात निर्यातमा मात्र सीमित भएको निजी क्षेत्रको सहभागितालाई विस्तार गर्यो ।’
पूर्वमन्त्री डा। महतले भने, ‘पछिल्लो चरणमा म अर्थमन्त्री भएँ, पहिलो चरणको सुधार ०४६ पछि प्रारम्भ भएको हो । दोस्रो चरणको सुधार प्रारम्भ गर्ने काम हामीले गर्यौं, यसमा निरन्तर निजी क्षेत्रको सुझाव, सल्लाह र सहभागितालाई उच्च महत्व दिएको कुरा तीनवटै उद्योग व्यवसायीको छाता संगठनका साथीहरुलाई राम्रोसँग थाहा छ ।’
‘जबसम्म राज्यसंयन्त्र पारदर्शी, अनुशासित हुँदैन, बजेटरी सिस्टममा नचल्दासम्म राज्य प्रभावकारी हुनसक्दैन । राज्य विभेदकारी भयो भने राज्य वितरणमुखी र पार्टीमुखी मात्र भयो भने देशले अपेक्षा गरेको आर्थिक वृद्धि सम्भव हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ’ डा। महतले भने ।
‘यी कुरालाई मूलमन्त्र बनाएर हामी पछिल्लो गठबन्धन सरकारमा सक्रिय भएका हौं । नेपालमा लगानी पठाउनका लागि तीनवटै निजी क्षेत्रको संगठनलाई सदस्य बनाएर के–कस्ता अप्ठ्यारा छन्, के कस्ता सुधारका आवश्यकता छ, कहाँ झन्झट र अप्ठ्यारो निजी क्षेत्रले महसुस गरेको छ रु भन्ने कुरालाई मध्यनजर गरेर उहाँहरुलाई हस्ताक्षर गराएर अर्थमन्त्रालयको तहबाट मन्त्रिपरिषद्मा पुर्याएको हो,’ उनले भने, ‘त्यही कुरालाई कानुनी रुप दिएर लगानी सम्मेलनमा थप ऊर्जा प्रदान गर्ने हाम्रो लक्ष्य थियो । बजेटलाई हामीले सिस्टममा ल्याउँदैछौं ।’
डा। महतले भने, ‘दोस्रो चरणको सुधारको प्रारम्भ हामीले गरेका थियौं, त्यसलाई निरन्तरता भयो भने जसरी ०४६ पछि आर्थिक वृद्धिदरमा नयाँ प्राम्भ भएको थियो, फेरि त्यो अझै हुनसक्छ । तर वितरणमुखी बाटोमा जाने, निजी क्षेत्रसँग सहकार्य मौखिकरुपमा गर्ने र व्यवहारमा उल्टो गर्ने काम भयो भने जुन सुधार, प्रगति र शिथिलता चिरेर अर्थतन्त्रले लय पक्रदै थियो, त्यो लय भंग हुने खतरा मैले देखेको छु ।’
प्रतिक्रिया