२०८३ जेठ ३० गते
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय समिति गठन गरेको छ । काभ्रेका वरिष्ठ प्रहरी उपरिक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन भएको हो ।
दुर्घटनामा ८ जनाको मृत्यू भएको थियो । मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको हो । दुर्घटनामा काभ्रेको रोशी गाउँपालिकाका ६ जना, नेपाली सेनाका १ अमलदार तथा सिन्धुलीको घ्याङलेख गाउँपालिकाकी १युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रोशी गाउँपालिका–६ निवासी अन्दाजी ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा तथा रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङको दुर्घटनामा ज्यान गएको हो । त्यस्तै, दैलेख घर भई हाल नेपाली सेनामा अमलदार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ निवासी २२ वर्षीया सुमी लामाको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
बनेपाबाट रोशी गाउँपालिका–६ स्थित सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस शुक्रबार दिउँसो बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट ३ सय मिटर तल खस्दा उक्त दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। एकै गाउँका ६ जनाको मृत्यु र धेरै जना घाइत भए पछि काभ्रेको रोशी अहिले शोकमा डुबेको छ ।
प्रतिक्रिया