२०८३ जेठ २९ गते
काठमाडौँ । अमेरिकामा आयोजना भइरहेको २०२६ को फिफा विश्वकप प्रत्यक्ष हेर्न जान चाहेका तर भिसा अस्वीकृत भएका अर्जेन्टिनी फुटबल समर्थकहरूलाई एक कम्पनीले निःशुल्क टेलिभिजन उपलब्ध गराएको छ।
विश्वकपको उत्साहलाई घरमै बसेर पनि मनाउन सकून् भन्ने उद्देश्यले कम्पनीले विशेष अभियान सञ्चालन गरेको जनाएको छ। अभियानअन्तर्गत अमेरिकी भिसा आवेदन अस्वीकृत भएको प्रमाण पेश गर्ने पहिलो १०० जना समर्थकलाई निःशुल्क टेलिभिजन प्रदान गरिएको हो।
कम्पनीका अनुसार धेरै अर्जेन्टिनी समर्थकहरू आफ्नो राष्ट्रिय टोलीको खेल प्रत्यक्ष हेर्न अमेरिका जान चाहन्थे। तर भिसा नपाएपछि उनीहरू निराश बनेका थिए। यही अवस्थालाई मध्यनजर गर्दै समर्थकहरूको विश्वकपप्रतिको उत्साह कायम राख्न यस्तो पहल गरिएको कम्पनीले जनाएको छ।
यस अभियानलाई सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ। धेरैले यसलाई फुटबल समर्थकप्रतिको सम्मान र विश्वकपको माहोललाई घर–घरमा पुर्याउने सिर्जनात्मक प्रयासका रूपमा प्रशंसा गरेका छन्।
फिफा विश्वकप २०२६ यस वर्ष अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिताप्रति विश्वभरका फुटबल समर्थकहरूमा उच्च उत्साह देखिएको छ।
प्रतिक्रिया