२०८३ असार ०३ गते
काठमाडौँ । बुधबार सेयर बजार सामान्य सुधारसहित बन्द भएको छ । लगातार केही कारोबार दिन ओरालो लागेको बजारमा यस दिन झिनो अंकको वृद्धि देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको छ ।
बजार परिसूचक सकारात्मक रहे पनि कारोबार रकममा भने कमी आएको छ । यस दिन ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर तीन अर्ब ६३ करोड ७५ लाख रुपैयाँमा खरिदबिक्री भएका छन् । अघिल्लो कारोबार दिन मंगलबार चार अर्ब ४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । बुधबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि देखिएको हो । हालै बजारमा सूचीकृत भएका यी दुवै कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस्तै, बुंगल हाइड्रोपावरको शेयर मूल्य ७.५ प्रतिशतभन्दा बढीले बढेको छ । मूल्य घट्ने सूचीमा एनएमबी डिबेञ्चर २०८५/८६ रहेको छ, जसको मूल्य १०.७५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेको छ । कम्पनीको शेयर २१ करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रो स्थानमा रहेको रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । उपसमूहतर्फ १३ मध्ये पाँच उपसमूहका परिसूचक बढेका छन् भने आठ उपसमूह ओरालो लागेका छन् । विकास बैंक, वित्त, जलविद्युत्, लगानी तथा उत्पादन तथा प्रशोधन समूहमा सुधार देखिएको छ । बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार तथा अन्य उपसमूहका परिसूचक भने घटेका छन् ।
प्रतिक्रिया