२०८३ जेठ २७ गते
बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज फेरि ६० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलन ब्याजदरका आधारमा हुने तथा बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। उक्त बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले २३ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो। यसअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज आगामी असार १९ गते भुक्तानी गरिनेछ।
प्रतिक्रिया