२०८२ असार ०७ गते
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले एक वर्षमा तीन करोड बढीको खसी बोका बिक्री गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असार ६ गतेसम्म ३ करोड २६ लाख ४३ हजार ६ सय ३ रुपैयाँ बराबरको खसी बोका निर्यात भएको हो ।
गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा १ करोड बढीको खसीबोका निर्यात भएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए । गत आर्थिक वर्षमा २ करोड २६ लाख बराबरको खसीबोका निर्यात भएको उनको भनाई छ ।
यहाँ कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम प्रभावकारी बन्दै जाँदा कृषकमा बाख्रा पालनमा आकर्षण बढेको उनले बताए। गाउँपालिकामा सूचिकृत भएका चार सहकारी संस्थाबाट ४३४ कृषकका १ हजार ५ सय ८८ खसीबोका एक वर्षमा बिक्री भएको रावतको भनाई छ ।
उनका अनुसार नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३६१ खसी बोकाबाट ७० लाख ४२ हजार १ सय ८४ रुपैयाँ, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ३ सय १८ खसी निर्यात गर्दा ७१ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ, दुर्गा भवानी सामाजिक उद्यमी महिला सरकारी संस्था मार्फत ७ सय २२ खसी निर्यात गर्दा १ करोड ४६ लाख १६ हजार ७ सय ८५ रुपैयाँ र त्रिवेणी पशुपालन व्यवसाय सहकारी संस्था मार्फत १ सय ८७ खसी निर्यात हुँदा ३८ लाख ३२ हजार १ सय ७० रुपैयाँ किसानले आम्दानी गर्न सफल भएका छन् । जसबाट किसानले उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत १० लाख ८० हजार ९ सय २० रुपैयाँ अनुदान पाएका छन् ।
गाउँपालिकाले सहकारीमार्फत वार्षिक जिउँदो १०० किलोभन्दा माथि खसी बोका बिक्री गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँका दरले अनुदान दिँदै आइरहेको उनले बताए ।
उनले भने, “कृषकले सहकारी मार्फत खसी बिक्री गर्दछन् । उनीहरूले वर्षमा एक सय किलोभन्दा बढीका खसीबोका बिक्री गरेमा पालिकाले प्रतिकिलो २० रुपैयाँ अनुदान दिन्छ ।”
गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले उत्पादनमा वृद्धि गर्न कृषकको उत्पादनकै आधारमा अनुदान दिने कार्य गरिएको बताए।
“पशुपालनको क्षेत्रमा यो नौलो कार्य हो, जसले उत्पादन गरेर सहकारीमार्फत खसीबोका बिक्री गर्छ उसले अनुदान पाउने हो ।” उनले भने ।
अध्यक्ष रावतले पशुपालनमा कृषकलाई आकर्षित गर्न र नश्ल सुधार गर्न उन्नत जातका बाख्रा तथा बोका वितरण गर्दै आएको बताए । “हामी पशुपालन व्यवसाय गर्ने कृषकलाई आवश्यक तालिम तथा प्राविधिक ज्ञान दिन्छौँ, आहारा वृद्धिका लागि घाँस खेती बिस्तार, पशु उपचार तथा परामर्श लगाएतका सेवा दिँदै आएका छाँै ।”, उनले भने ।
गाउँपालिकाको वडा नम्बर २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्र तथा वडा नम्बर १, ३ र ६ लाई भैँसी पकेट क्षेत्रका रुपमा विकास गरिएको अध्यक्ष रावतले बताए ।
व्यावसायिक बाख्रा पालनका लागि कृषकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । उत्पादित खसीबोका काठमाडौँ, पोखरा, दाङ लगायतका प्रमुख शहरमा बढी माग हुन्छ । जङ्गलमा घाँस सँगसँगै जडीबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीले सल्यानको खसी बोकामा अन्य जिल्लाको तुलनामा बढी मूल्यमा बिक्री हुने गर्दछ ।
प्रतिक्रिया