भारतको जेनजी कक्रोच जनता पार्टीले पनि शुरु गर्यो आन्दोलन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

२०८३ जेठ २३ गते

भारतको जेनजी कक्रोच जनता पार्टीले पनि शुरु गर्यो आन्दोलन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

काठमाडौं । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम)मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’ माग्यौं, तपाईंहरूले ‘लिक इन इन्डिया’ दिनुभयो’ जस्ता नाराहरू लगाएका थिए ।

Advertisement:

Ad
Ad

सीजेपीका संस्थापक अभिजित दिप्के अमेरिकाको बोस्टनबाट दिल्ली पुगेर आन्दोलनको नेतृत्व गरिरहेका छन् । दिल्ली विमानस्थलमा उनी भारतीय संविधानका निर्माता डा.भीमराव अम्बेडकरसँग सम्बन्धित पुस्तक बोकेको अवस्थामा देखिएका थिए ।

सामाजिक सञ्जाल एक्समार्फत सीजेपीले दिल्ली प्रहरीले जन्तर–मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको जनाएको थियो । पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानमाथि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन आयोजना गरिएको बताएको छ ।

दिल्ली प्रहरीको अतिरिक्त कार्यालयले जारी गरेको आदेशअनुसार सीजेपीलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जन्तर–मन्तरमा प्रदर्शन गर्न एकपटकका लागि विशेष अनुमति प्रदान गरिएको थियो । आदेशमा सर्वोच्च अदालतका निर्देशिका तथा सम्बन्धित कानुनी प्रावधानअनुसार अनुमति दिइएको उल्लेख गरिएको छ ।

भारतमा पछिल्लो समय विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएका अनियमितताका कारण विवाद चुलिएको छ । विशेषगरी नीट–यूजी परीक्षा प्रश्नपत्र चुहावट, प्रशासनिक कमजोरी तथा परीक्षा व्यवस्थापनसम्बन्धी विवादका कारण चर्चामा रहेको छ । यस वर्षको परीक्षा जुन २१ मा पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ ।

प्रश्नपत्र चुहावट प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अनुसन्धान जारी राखेको छ । घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरू पक्राउ परिसकेका छन् । सीबीआई निर्देशक प्रवीण सूद र राष्ट्रिय परीक्षण एजेन्सी ९एनटीए० का महानिर्देशक अभिषेक सिंहले हालै संसदीय स्थायी समितिलाई अनुसन्धानको प्रगतिबारे जानकारी गराएका थिए ।

यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले दिल्लीसहित भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै परीक्षा प्रणालीमा बारम्बार देखिएका अनियमितताबारे जवाफदेहिता माग गरेका थिए । शिक्षा मन्त्रालय बाहिर प्रदर्शन गर्ने केही विद्यार्थी तथा अभियन्तालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

यस विषयमा राजनीतिक प्रतिक्रिया पनि तीव्र बनेको छ । आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरीवाल तथा कांग्रेसका नेता जयराम रमेश र राहुल गान्धीले परीक्षा प्रणाली व्यवस्थापनमा केन्द्र सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।