लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित

२०८३ जेठ २५ गते

लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित

साताको पहिलो कारोबार दिन सोमबार नेप्से ओरालो लागेको छ। पछिल्ला दुई कारोबार दिनदेखि देखिएको गिरावटको क्रम सोमबार पनि कायम रहँदा नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा बन्द भएको हो।

 

Advertisement:

Ad
Ad

बजार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार ३५६ वटा स्टकको ५६ हजार ८४५ पटक कारोबार हुँदा कुल ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको ९२ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ। यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ११३ रुपैयाँ ६० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १३ प्रतिशतभन्दा बढी र सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ।

उता, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ७.१४ प्रतिशतले घट्दै दिनको सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ।

 

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। कम्पनीको २० करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस्तै, ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८ को १७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा आँखुखोला जलविद्युत कम्पनीको कारोबार रकम १३ करोड ५० लाख रुपैयाँ नाघेको छ।

उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये केवल वित्त उपसमूह मात्रै हरियो रहँदा बाँकी १२ उपसमूहमा गिरावट देखिएको छ। व्यापार उपसमूह सर्वाधिक १.७७ प्रतिशतले घटेको छ भने विकास बैंक र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।