२०८२ जेठ १९ गते
काठमाडौ । विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका लागि दुईवटा परियोजनाहरू स्वीकृत गरेको छ । जसअन्तर्गत कुल २५७ मिलियन अमेरिकी डलरको लगानीमा विद्युत वितरण सेवा सुधार र सिँचाइ सेवा अभिवृद्धि हुनेछ । यसले कृषिमा उत्पादनशीलता बढाउन पनि सहयोग पुग्ने विश्व बैंकले भनेको छ ।
विद्युत आपूर्ति विश्वसनीयता सुधार परियोजना (१२० मिलियन) को उद्देश्य कोशी, बागमती, कर्णाली, र सुदूरपश्चिम प्रदेशका प्रयोगकर्तालाई गुणस्तरीय र विश्वसनीय विद्युत आपूर्ति पुर्याउनु हो। नेपाल विद्युत प्राधिकरणको पहलमा यस परियोजनामा नयाँ वितरण सबस्टेशन निर्माण, हालका नेटवर्कहरूको स्तरोन्नति, र वास्तविक समयमा निगरानी गर्ने स्वचालित प्रणाली कार्यान्वयन हुनेछ ।
रानी जमरा कुलरिया सिँचाइ परियोजना ( तेस्रो चरण) (१३७ मिलियन) को उद्देश्य सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षैभरि सिँचाइ सेवामा पहुँच विस्तार, कृषि उत्पादन वृद्धि, र जलवायु सहनशीलता सुदृढ गर्नु हो। नेपाल सरकारको जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागले संयुक्त रूपमा कार्यान्वयन गर्ने यस परियोजनाले थप १७,५०० हेक्टरमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने बताइएको छ भने यसबाट १ लाख ६० हजार मानिस लाभान्वित हुनेछन्।अविच्छिन्न विद्युत आपूर्ति , वर्षभरि सिँचाइ सेवा नेपालको दिगो विकासका लागि आधारभूत पूर्वाधार हुन्,ू माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देश डिभिजन निर्देशक डेविड सिस्लेनले बताए। ूयी परियोजनाहरूले स्वच्छ जलविद्युतमा आधारित विद्युत आपूर्तिलाई प्रवर्द्धन गर्ने र कृषकहरूलाई एकीकृत कृषि सेवामार्फत जलवायु र विपद् जोखिमको सामना गर्न सक्ने क्षमतामा पनि सहयोग पुर्याउने छ ।
यी परियोजनामा नेपाल विद्युत प्राधिकरण र सिँचाइ प्रयोगकर्ता संघहरूका लागि नवप्रवर्तनात्मक समाधानहरू प्रवर्द्धन गर्न तथा पूर्वाधारको दीर्घकालीन व्यवस्थापन र दिगोपनाका लागि संस्थागत प्रणाली सुदृढ गर्न क्षमता अभिवृद्धि कार्यक्रमहरू पनि समावेश छन्।
प्रतिक्रिया