२०८० फागुन ३० गते
काठमाडौं । करिव २ महिनादेखि रिक्त नेपाल धितो पत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि डेढ दर्जन उम्मेदारहरुले आवेदन दिएका छन् । सेबोनको अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका हुन् ।
बोर्डले रिक्त रहेको अध्यक्ष पदका लगि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न गत फागुन १६ गते दरखास्त आव्हान गरेको थियो । आज फागुन ३० गते अर्थात् अन्तिम दिनसम्म १९ जनाले आवेदन दिएका हुन् । बोर्ड अध्यक्ष बन्नका लागि तत्कालिन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापाँगाई, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की लगायत १९ जनाको आवेदन परेको छ ।
अध्यक्षका लागि बोर्डका कार्यकारी दुई जना निर्देशक डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठले पनि आवेदन दिएका छन् । यस्तै, कृष्ण पोखरेलको पनि आवेदन परेको छ । यता, नेपाल बैंकका पूव प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, प्रविण पन्दाक, रघु काफ्ले, डा. केशब प्रसाद श्रेष्ठ लगायतको आवेदन परेको हो ।
यसैगरी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारिले पनि आवेदन दिएका छन् ।
बोर्ड अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । आवेदन दिएकाहरुमध्ये ५ जनाको नाम सर्ट लिस्टिङ् हुने छ । त्यसपछि समितिले अन्तवार्ता र प्रस्तुतीकरणका लागि बोलाएर त्यसकै आधारमा ३ जनाको नाम बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रिपषिदमा सिफारिस हुने छ ।
प्रतिक्रिया