२०८० चैत २७ गते
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्व खड्काका अनुसार प्रदर्शनकारीले भद्रकाली, सहिदगेट, माइतीघर, रत्नपार्क, त्रिपुरेश्वर, सुन्धारा आसपासमा नाराबाजीसहित प्रदर्शन गरेकाले सवारी साधनलाई वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको छ ।

सार्वजनिक बसलाई वैकल्पिक बाटोतर्फ पठाइएपछि यात्रु भने अलपत्र परेका छन् । उनले भने, “प्रदर्शनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ, सवारीलाई भद्रकाली, सुन्धारा प्रवेश गर्न नदिई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।’

अहिले माइतीघरबाट सवारीलाई सुन्धारा प्रवेश गर्न नदिएको उनको भनाइ छ । भक्तपुरबाट आउने सार्वजनिक सवारी साधनलाई तीनकुनेबाटै सिनामङ्गलतर्फ पठाइएको छ । ललितपुरबाट आउने सवारी साधनलाई पनि काठमाडौं प्रवेशमा रोक लगाइएको छ । पुल्चोकदेखि नै सवारी साधनलाई झम्सिखेल र सानेपातर्फ पठाइएको छ ।
उनले प्रदर्शनकारी भद्रकालीबाट त्रिपुरेश्वरतर्फ गएका छन् । कीर्तिपुरबाट आउने सवारी साधनलाई कालिमाटीमा रोकिएको छ । सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मङ्गलबार प्रदर्शन गरेको हो ।
रासस
प्रतिक्रिया