प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको वाइड बडी जहाज ग्राउण्डेड

२०८० माघ ०२ गते

प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको वाइड बडी जहाज ग्राउण्डेड

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ ।

जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो । ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ। रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उनले जानकारी दिए ।

Advertisement:

Ad
Ad

‘हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए। यात्रुहरुलाई आज साँझ ७ः४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ । यात्रुलाई दिउँसो ४ बजे विमानस्थलको समय दिइएको छ,’ प्रवक्ता पौडेलले भने ।

निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ। अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । काठमाडौँबाट दोहा उडानको तयारीमा रहेका दुई सय ७६ यात्रुलाई राति होटेलमा राखेको थियो ।