मनसुन सुरु हुन अझै दश दिन लाग्ने

२०८१ जेठ १८ गते

मनसुन सुरु हुन अझै दश दिन लाग्ने

काठमाडौँ। यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको हो ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुन १० दिन सम्ममा नेपाल आइपुग्नेछ । उनले भने, “नेपाल भित्रने मनसुन अहिले भारतको केरला आसपास आइपुगेको छ । अबको १० दिनमा नेपाल भित्रन सक्ने सम्भावना छ ।”  गत वर्ष केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो ।

Advertisement:

Ad
Ad

गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) मा भित्रिएको मौसमविद् लामिछाने  बताए । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो । बङ्गालदेखि मेघालय हुँदै आसामतिर बाट मनसुन नेपाल भित्रने उनको भनाइ छ ।

मौसमविद् लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावक कारण कोशी, बागमती गण्डकी प्रदेशका केही भूभागमा बेलुकापख मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पशिचमी भूभागमा भने पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ । अहिले नेपालगन्ज आसपासको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौँ उपत्यकाको तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ ।