कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने, मुस्ताङवासीमा छायो खुसियाली

२०८० कात्तिक २१ गते

कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने, मुस्ताङवासीमा छायो खुसियाली

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताए ।

“सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कूटनीतिक पहल सफल भएको छ,” उनले भने, “लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।”

Advertisement:

Ad
Ad

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरला लगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनमा ल्याउने तयारी भएको जनाएको थियो । यसैगरी मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो ।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।

उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

“प्रवेश पास भएका नागरिकले जुुनसुुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,” उनले भने, “कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिका लागि तयारी गरिएको छ ।”

नेचुङ सशस्त्र प्रहरी बल (विओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमामा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।