कैलाश सिरोहिया नागरिकता प्रकरण : नागरिकता दिने सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ जेठ १७ गते

कैलाश सिरोहिया नागरिकता प्रकरण : नागरिकता दिने सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिनेलाई पक्राउ पुर्जी जारी गरिएकाे छ । सिराेहियालाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहाललाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हाे ।

Advertisement:

Ad
Ad

नागरिकता प्रकरणमा ९ दिनको हिरासतपछि हिजो (जेठ १६ गते) मात्र सिरोहिया हाजिरी जमानीमा छुटेका छन् । त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो।

स्रोतका अनुसार अनुसन्धानका क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा तत्काली सीडीओ भट्टराई र शाखा अधिकृत दाहाल संलग्न देखिएकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सिरोहियाविरुद्ध अनुसन्धानका क्रममा प्रहरीले दाहालसँग यसअघि पनि बयान लिइसकेको छ । अनुसन्धानमा प्राप्त प्रमाण र उनको बयानबीच तालमेल नदेखिएपछि प्रहरीले पक्राउ गरेरै अनुसन्धान गर्न जिल्ला अदालत धनुषासँग अनुमति मागेको थियो ।

बयानका क्रममा तत्कालनी शाखा अधिकृत दाहालले सिरोहियाको प्रतिलिपि नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको र जन्ममितिमा १८ वर्षसँगै ब्राकेटभित्र साल, महिना र गते लेखेको अक्षर पनि आफ्नैजस्तो लागेको बताएका थिए । यसको फरेन्सिक जाँच काठमाडौँमा हुँदै छ।

यस्तै पहिलोपटक नागरिकता दिने तत्कालीन सीडीओ भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएपछि प्रहरीको मागअनुसार अदालतले उनलाई पनि पक्राउ गर्न अनुमति दिएको हो ।