२०८० पुस २९ गते
वीरगञ्ज। इँटाभट्टीमा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमको मुद्दामा आइतबार पेशी तोकिएको छ ।
जिल्ला अदालत, रौतहटमा आलमसहित पाँचजना विरुद्ध परेको मुद्दामा आज पेशी हुने अदालतका श्रेस्तेदार उद्घव ढोडारीले जानकारी दिए ।उनका अनुसार दुबैतर्फका वकिलहरूले बहस नोट अदालतमा पेश गरिसकेकाले आज चढ्ने पेशीमा मुद्दाकाे अन्तिम फैसला आउने सम्भावना छ ।
यसअघि उक्त मुद्दामा बहस नोट समयमा पेश नभएकोले पेशी चढ्नमा ढिलाइ हुँदै आएको थियो । जिल्ला अदालतमा आलमविरुद्ध विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दा दर्ता छ ।
२०६४ सालमा भएकाे पहिलो संविधानसभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो ।
विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले आलमसहितलाई प्रतिवादी बनाएर ०७६ साल कार्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरमा मुद्दा दर्ता गराएका थिए ।
प्रतिक्रिया