२०८१ वैशाख २३ गते
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी उनीहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज भएको ‘डढेलो र आगोलागी सम्बन्धी आपत्कालिन छलफल’मा आगोलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने भएकाले आगो लगाउनेलाई कानून अनुसार कारबाही गर्न निर्देशन दिएका हुन्।
‘केही मान्छेका कारण आगोलागीले वन र बस्ती सखाप भइरहेको छ। आगोलागीले विपद्कै रुप लिइसक्यो। तर, आगो लगाउनेको अक्सर पहिचान हुँदैन। पहिचान भएका पनि कानून मातहत आएका छैनन् होला। वनमा आगो लगाउनु अपराध हो। अपराध गर्नेलाई कानूनअनुसार कारबाही हुनुपर्छ। त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नुहोला’ मन्त्री लामिछानेले गृह मन्त्रालय, मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने।
आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो। उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार,जनप्रतिनिधि,स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालय लगायतलाई सूचना दिन अनुरोध पनि गरे।
विपद् नै पिच्छे स्रोत–साधनको अभाव देखाएर गर्न सकिने सामान्य काम पनि नगर्ने प्रवृत्ति रहेको तर्फ संकेत गर्दै मन्त्री लामिछानेले नागरिकको ज्यान बचाउन राज्यले स्रोत–साधनको अभाव देखाउन नहुने बताए। स्रोत–साधन अपुग रहे पनि भएकाको उच्चतम् सदुपयोग गर्न, कार्ययोजना बनाएर अगाडि बढ्न, जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न निर्देशन पनि दिए।
प्रतिक्रिया