२०८३ जेठ १५ गते
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट लेखनको सबै काम सकिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब संसदमा प्रस्तुत गर्न मात्र बाँकी छ । शुक्रबार बिहान ३ बजे सचिव र अर्थमन्त्रीको टिमले बजेट फाइनल गरेका हुन् । बजेट लेखन कमिटि पनि रातभर अर्थमन्त्रालयमै थिए ।
४ बजे नै बजेट संसदमा पेश गर्ने कुनै नीति निर्देशिका तथा कानुन छैन । तर यहि समयमा बजेट भाषण हुने गरेको लामो समय भइसक्यो । ४ बजे नै बजेट किन पेश हुन्छ भन्ने विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले एक कार्यक्रममा भनेका थिए, 'अर्थमन्त्रालय अघिल्लो दिनदेखि बजेट भाषण गर्ने दिनको बिहानसम्मै अर्थमन्त्रालयमा जाग्राम बसेर काम गरिरहेको हुन्छ । सबै काम सकिएपछि बिचको २/४ घण्टा समय अर्थमन्त्री सुतोस भनेर छुट्याइएको जस्तो लाग्छ ।'
उसो त व्यवहारिक पाटो भने फरक छ । बजेट पूर्ण रुपमा तयार भएपछि सबैभन्दा पहिले प्रधानमन्त्रीको अध्यक्षता हुने राष्ट्रिय योजना आयोगको बैठकले आगामी आर्थिक वर्षको आय/व्ययको विवरण ल्याउने निर्णय गर्छ । यो निर्णय अर्थ मन्त्रालय पुग्छ । अर्थ मन्त्रालयबाट टिप्पणी उठाउँदै यो निर्णयलाई मन्त्रिपरिषद्मा पेश गरिन्छ । यही दिन मन्त्री परिषद् बैठक पनि बस्छ र सो बैठकले पास गरेपछि बल्ल संसदमा प्रस्तुत गर्न पाइन्छ ।
बजेट हरेक वर्ष १५ जेठमा सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । कुनै पनि हालतमा जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्छ ।
प्रतिक्रिया