२०८० मंसिर ०५ गते
काठमाडौँ । बेलायतका राजा तथा रानीको हातबाट औपचारिक रुपमा सम्मान पाउने अवसर नेपालीहरुका लागि विरलै हुनसक्छ । किनकि कुनै पनि क्षेत्रमा विशेष योगदान पुर्याउने विदेशीले मात्र यस्तो सुअवसर प्राप्त गर्दछन् । तर चितवनमा जन्मिएर नेपाली माटोमा हुर्के बढेकी नेपाली चेली शरद रायमाझीले हालै यस्तो सम्मान प्रप्त गर्न सफल भएकी छिन् ।

हाल बेलायतमा रहेर नर्सिङमा पीएचडी गरिरहेकी रायमाझीलाई क्रिटिकल अवस्थामा रहेका बिरामीलाई औषधोउपचार र सेवा पुर्याएबापत गत नोभेम्बर १८मा बेलायतको बकिङघम प्यालेसमा राजा चार्ल्स तृतीय र रानी क्यामेला पार्करले सम्मानित गरेका हुन् ।शरद हाल बेलायतको एडिनबर्ग नेपियर विश्वविद्यालयको छात्रवृत्तिमा नर्सिङमा पीएचडी गरिरहेकी छिन् ।
पढाईमा सानैदेखि मेधावी शरदले पद्मश्री कलेज अफ नर्सिङ, बैंगलोरमा अध्ययनका क्रममा सन् २०१६ मा कर्नाटक राज्यको स्वास्थ्य मन्त्रालयबाट फ्लोरेन्स नाइटिङगेल पुरस्कार प्राप्त गरेकी थिइन् । नर्सिङ क्षेत्रमा उनले पुर्याएको असाधारण योगदानको कदर स्वरुप उनलाई उक्त पुरस्कार दिइएको थियो ।त्यस्तै बीएससी नर्सिङ, २०१६ मा सर्वोत्कृष्ट अंक ल्याएवापत उनी अध्ययनरत कलेजबाट स्वर्ण पदकले सम्मानित भइन् ।
स्पेन, पोर्चुगल र युकेका चार प्रतिष्ठित विश्वविद्यालयहरूबाट डिग्री लिइसकेकी शरदले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विद्याभूषण सीद्वारा सम्मानित भइसकेकी छिन् । नेपालमा रहँदा उनले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उतकृष्ट सेवा पुर्याएबापत सम्मानित भएकी हुन् । 
त्रिभुवन विश्वविद्यालयबाट क्लिनिकल मनोविज्ञानमा पनि मास्टर्स गरेकी शरदले इमर्जेन्सी र क्रिटिकल केयर नर्सिङमा इरास्मस मुन्डस छात्रवृत्तिद्वारा पुरस्कृत भईसकेकी छिन् ।त्यस्तै शरद नेपालको पहिलो महिला एपिथेरापी ट्रेनर हुन् ।जसमार्फत उनले मानव दिमागको जटिलताहरू पत्ता लगाउन र मानसिक स्वास्थ्य बारेमा नयाँ अध्ययन गर्न सफल भएकी छिन् ।पेशाप्रतिको समर्पण र सेवा भावलाई महत्व दिने रायमाझीको निरन्तरको कर्मभावकै कारण उनलाई यी सब उपलब्धिहरुले एक पछि अर्को गरी पछ्याउँदै गए ।
चाहे देशमा होस् या विदेशमा मानिसहरूसँगको सहकार्य र त्यसबाट निर्मित सञ्जाल अनी अनुभवहरूनै आफुलाई उत्कृष्ट हुने अवसर प्राप्त भएको बताउँछिन् । कामप्रतिको निष्ठा,अटल समर्पण राखिए हरेक मानिसले आफ्नो सपना वास्तविकतामा परिणत गर्न सक्ने रायमाझीको भनाई छ ।
प्रतिक्रिया