बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीले भने– कानुन विपरीत भए जग्गा फिर्ता गर्छु

२०८० माघ २० गते

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीले भने– कानुन विपरीत भए जग्गा फिर्ता गर्छु

२० माघ, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले प्रहरीसमक्ष बयान दिँदै कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् ।

सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् ।

Advertisement:

Ad
Ad
सीआईबी टोलीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार दिनभर बयान लिइएको थियो । त्यसक्रममा चौधरीले आफूले सबै काम कानुन अनुसार नै गरेको बताएका थिए ।

यदि कानुन विपरीत हो भने आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पत्रकार सम्मेलन गरेर तीन महिना लामो अनुसन्धानपछि चौधरीले १० रोपनी जग्गा हिनामिना गरेको देखिएको दाबी गरेको थियो । ब्यूरोले संकलन गरेको कागजात र प्रमाणका आधारमा उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले बताएका छन् ।

प्रहरीले बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण थापासँग पनि बयान लिइसकेको छ । उनले आफूले गरेको निर्णय गलत हो भन्ने थाहा नभएको बयान दिएका छन् । ‘मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्छ भन्ने मलाई कसैले भनेनन्’, उनले भनेका छन्, ‘भनेको भए निर्णय गर्ने थिइनँ ।’

प्रहरीले बिहीबार अपराह्न सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको थियो । बिहीबार चौधरी र थापालाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

ठाकुरलाई प्रहरीले शुक्रबार अदालत उपस्थित गराएको थियो । शुक्रबार उनको पनि चौधरी र थापासँगै म्याद मिलान गर्ने गरी अदालतबाट अनुमति प्राप्त भएको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

प्रहरीका अनुसार, चौधरी समूहले ०४३ सालयता श्रृंखलाबद्ध रुपमा निर्णयहरु गरेर बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा निजी कम्पनी मातहत ल्याइको भेटिएको छ ।