बजेटका सबै कार्यक्रम कार्यान्वयन हुँदैन : अर्थमन्त्री

२०८० माघ २९ गते

बजेटका सबै कार्यक्रम कार्यान्वयन हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा पनि पूर्ण बजेट खर्च नहुने जनाएको छ । गत आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो भने माघ मसान्तमा १५ खर्ब ४९ अर्ब ९९ रुपैयाँ मात्रै खर्च हुने संशोधित लक्ष्य सार्वजनिक गरेको थियो ।

सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्री महतले गत जेठमा सार्वजनिक गरिएको बजेटका सबै कार्यक्रम कार्यान्वयन नहुने जानकारी दिएका छन् ।

Advertisement:

Ad
Ad

गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका अर्थ मन्त्री महतले संशोधित खर्च तथा आम्दानीको अनुमान सार्वजनिक गरेका हुन् । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दा चालूतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

तर, सोमबार मन्त्री महतले १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका छन् । सुधारको प्रयास गर्दा गर्दै लक्ष्य अनुसार आम्दानी बढ्न नसकेकाले सरकाले खर्चको अनुमान घटाउनु परेको महतले बताए । यो वर्ष सुरु विनियोजनको ८७.३८ प्रतिशत खर्च हुने भएको छ ।

महतले चालु तर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, २ खर्ब ५४ अर्ब रुपैयाँ पुँजीगत तर्फ रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ६८ अर्ब खर्च हुने बताए ।बजेट खर्चको संशोधित अनुमान सार्वजनिक गरेको अर्थ मन्त्रालयले आम्दानीको लक्ष्य पनि घटाएको छ ।सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको थियो ।

यो वर्ष सरकारले समग्रमा (स्थानीय तह र प्रदेशमा राजस्व बाँडफाँडबाट जाने रकम सहित) १४ खर्ब २३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।चालु आर्थिक वर्षको ६ महिनामा संकलन भएको राजस्वको आधारमा सरकारले यो वर्ष रुपैयाँ राजस्व संकलन भएको राजस्वको आधारमा संघिय सरकारको कोषमा १० खर्ब ८० अर्ब रुपैयाँ, आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक सहायताबाट ४० खर्ब रुपैयाँ र वैदेशिक ऋणबाट १ खर्ब ८० अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको छ ।

आर्थिक सुधारको विषयमा तत्कालै परिणाम निस्कने होइन, आर्थिक सुधारको विषय कुरा गरे जस्तो सजिलो होइन मन्त्री महतले भने, अहिले अर्थतन्त्र सुधारको बाटोमा गएको छ । आगामी दिनमा पनि सुधारको बाटोमा जाने छ ।

विगतमा बजेटमा घोषणा गरिएको दायित्व ठूलो भएकाले सरकारलाई बजेट व्यवस्थापन गर्न कठिन भएको महतले बताए ।‘अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएपनि सरकारले निर्धारण गरेको लक्ष्य अनुसार अर्थतन्त्र सुधार भएको छैन । गत वर्ष ऋणात्मक रहेको राजस्व यो वर्ष ९ प्रतिशतले बढेको छ ,’ महतले भने,‘बैंकिङ क्षेत्रमा तरलता सुधार आएको छ, ब्याजदर घट्दो क्रममा छ, शोधानान्तर स्थितिमा सुधार आएको छ, पर्यटकको संख्या बढेको छ ।’

महँगी सरकारले निर्धारण गरेको लक्ष्य भित्र रहनु सुखद पक्ष भएको महतको भनाई छ । सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत महँगी बढ्ने लक्ष्य राखेको थियो । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार पुस मसान्तसम्मको औषत महँगी वृद्धी ६.४७ प्रतिशत छ ।

विगतमा शेयर बजार र घर जग्गामा लगानी बढ्दा बैंकिङ क्षेत्र समस्यामा परेको महतको भनाई छ ।अहिलेसम्म पुँजीगत खर्च सुस्त भएपनि आगामी दिनमा खर्च बढाउने गरी सरकारले काम गर्ने महतले प्रतिवद्धता व्यक्त गरे ।