४० प्रतिशत निर्यात कर बढाइदिँदा,भारतीय प्याज नेपालमा महँगिने

२०८० भदौ ०३ गते

४० प्रतिशत निर्यात कर बढाइदिँदा,भारतीय प्याज नेपालमा महँगिने

भारत सरकारले प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको छ । भारतको आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि अर्थ मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

शनिवार सूचना जारी गर्दै भारतको अर्थ मन्त्रालयले उक्त कर तत्काल लागू हुने जनाएको छ । यसबाट घरेलु बजारमा बढ्दो प्याजको मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न सकिने र आन्तरिक बजारमा सहज आपूर्ति गर्न मद्दत पुग्ने बताइएको छ ।

Advertisement:

Ad
Ad

जुलाई महिनामा मात्रै भारतमा तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च वृद्धि भएपछि सरकारलाई मूल्य वृद्धि नियन्त्रणका लागि एक्सन लिनुपर्ने दबाबका बिच प्याजको निर्यात कर उच्च बनाइएको हो । भारतीय भान्छामा प्याजको अधिक प्रयोग हुने गर्छ ।

‘निर्यात कर बढाइदिँदा भारतीय प्याज पाकिस्तान, चीन र इजिप्टको भन्दा महँगो पर्न जान्छ । यसले भारतबाट निर्यातको सम्भावनालाई घटाउँदै लैजान्छ र स्थानीय बजारमा प्याजको मूल्य घटाउन मद्दत पुग्छ,’ मुम्बईस्थित प्याज निर्यातकर्ता अजित शाहले भने ।

भारतमा जुलाईदेखि अगस्टसम्मको अवधिमा मात्रै प्रमुख बजारहरूमा औसत थोक मूल्यमा करिब २० प्रतिशतले मूल्य वृद्धि भइसकेको छ । खण्डवृष्टिका कारण प्याजको उत्पादन आगामी दिनमा अझ प्रभावित हुने अनुमान गरिएको छ । भारतमा अगस्ट महिनालाई सबैभन्दा सुख्खा महिनाको रूपमा लिइन्छ र धेरै भूभागमा पानी पर्दैन ।

भारतमा सुख्खा महिनामा प्याज चाँडै कुहिने र नयाँ उत्पादन आउन पनि समय लाग्ने भएकाले भाउ महँगो हुन्छ । स्थानीय बजारमा नै प्याज महँगो हुने हुँदा सरकारले मूल्य नियन्त्रणका लागि उच्च कर लगाउने निर्णय गरेको हो ।

सन् २०२३ को पहिलो ६ महिनामा मात्रै प्याजको निर्यात गत वर्षभन्दा ६३ प्रतिशतले बढी भएको छ । त्यसैले पनि भारत सरकार प्याजको निर्यात घटाउने मुडमा पुगेको हो । गत महिना मात्रै भारतले बासमती बाहेकका अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

नेपाल, बङ्गलादेश, मलेसिया, यूनाइटेड अरब इमिरेट्स र श्रीलङ्काका तरकारी बजारहरू भारतीय प्याजमा अधिक मात्रामा निर्भर छन् । भारतको यस निर्णयले नेपाल लगायत ती देशहरूमा पनि प्याजको मूल्य तथा आयात प्रभावित हुने छ ।

एक तरकारी व्यवसायीका अनुसार भारतमा प्याजको निर्यात कर बढ्दा निश्चित रूपमै नेपालमा महँगो हुने बताउँछन् । उनका अनुसार हाल नेपाली बजारमा अधिकांश प्याज भारतबाटै आउँछ । सिजनल मात्र घरेलु उत्पादन हुने भएकाले नेपाली भान्छा भारतीय प्याजमा नै निर्भर रहँदै आएको छ ।

‘हाम्रो भान्छामा खपत हुने ९९ प्रतिशत प्याज भारतबाटै आयात हुने भएकाले यो निर्णयले नेपाल प्रभावित हुन्छ । आज लोड भएर आउँदा प्याज भोलिसम्म आइपुग्ने भएकाले तत्काल बढिसकेको भने छैन । बढी कर सहितको लट आइपुग्दा महँगिएर आउँछ,’ उनले भने ।

चीनबाट केही मात्रामा प्याज आए पनि नेपाली उपभोक्ताले चिनियाँ प्याज खासै नरुचाएको उनले बताए । ‘भारतीय प्याज महँगो भएपछि विकल्प खोज्न त सकिन्छ । तर यसको प्रक्रिया र बाटो लामो भएकाले तत्काल महँगै भए पनि भारतीय प्याज उपभोग गर्नुपर्ने बाध्यता हुन्छ । फेरि ग्राहकको प्रिफरेन्सको पनि कुरा आयो,’ उनले भने ।

उनका अनुसार चाइनिज प्याजको स्वाद केही फरक, बढी पानी बोक्ने तथा दाना धेरै ठूलो हुने भएकाले उपभोक्ताले यसअघि पनि त्यति रुचाएका थिएनन् ।