२०८३ असार १७ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै नेता शाहीले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट ‘पेट्रोल छैन’, ‘डिजेल छैन’ भन्दै बिक्री बन्द गरिएको सूचना प्राप्त भएको बताएका छन्।
उनले पेट्रोलियम पदार्थको मूल्य घटेपनि पुरानै मुल्यमा खरिद नाफा कमाउने उद्देश्यले व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने बताएका छन् । साथै यस्तो कार्य उपभोक्तामाथिको ठगी मात्र नभई बजार प्रणाली र कानुनी शासनमाथिको चुनौती भएको उनको भनाइ छ।
शाहीले सरकार, सम्बन्धित नियामक निकाय तथा अनुगमन टोलीलाई तत्काल बजारमा अनुगमन तीव्र बनाउन, इन्धन लुकाएर बिक्री बन्द गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन्।
उनले आम उपभोक्तालाई पनि सचेत रहन अपिल गर्दै आफ्नो क्षेत्रमा मूल्य घटेपछि इन्धन लुकाइएको, ‘स्टक छैन’ भन्दै बिक्री रोकिएको वा कृत्रिम अभाव सिर्जना गरिएको पाइएमा सम्बन्धित पेट्रोल पम्पको नाम, ठेगाना, फोटो वा भिडियोसहित प्रमाण उपलब्ध गराइदिन आग्रह गरेका छन्। प्राप्त प्रमाणका आधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने उनले बताएका छन्।
प्रतिक्रिया