तीन महिनामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने युवाको संख्या एक लाख ७० हजार

२०८१ कात्तिक २२ गते

तीन महिनामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने युवाको संख्या एक लाख ७० हजार

काठमाडौँ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिना साउन, भदौ र असोज मा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या एक लाख ७० हजार पाँच सय ९३ जना पुगेको छ। यो तीन महिनामा वैदेशिक रोजगारीमा जाने युवाको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।

नेपालीले रोजगारीका लागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो युएई नै हो। रोजगारीका लागि साउनमा विदेसिएका ५९ हजार पाँच सय ७५ जना मध्ये युएई जानेको संख्या १७ हजार पाँच सय ४१ जना छ।

Advertisement:

Ad
Ad

त्यसैगरी भदौमा विदेसिएका ५७ हजार चार सय ९३ जना युवामध्ये १८ हजार ६ सय पाँच जना र असोजमा ५३ हजार पाँच सय २५ जनामध्ये १७ हजार सात सय २४ युवाहरू श्रम स्वीकृति लिएर युएई पुगेका छन्। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो।

गत आर्थिक वर्षबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। यसले चालु आर्थिक वर्षको तीन महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि रेमिट्यान्स वृद्धि हुने देखिएको छ। विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ साउनदेखि असारसम्ममा मात्रै एक लाख ९३ हजार चार सय ३८ युवा श्रमका लागि युएई पुगेका थिए। जसमा एक लाख ६६ हजार चार जना पुरूष र २७ हजार चार सय ३४ जना महिला श्रम स्वीकृति लिएर विदेसिएका छन्।