२०८१ जेठ २१ गते
काठमाडौं । सोमवार धितोपत्र दोस्रो बजारमा १९ लाख ६९ हजार ४१४ दशमलव ६२६१ कित्ता धितोपत्र थपिएको छ । दुई कम्पनीको बोनस शेयर वापत्को उल्लेखित कित्ता शेयर दोस्रो बजारमा थपिएको हो । डिप्रोक्स लघुवित्तको १० प्रतिशत वोनस शेयर वापत्को १५ लाख ५१ हजार ८८ दशमलव १६६१ कित्ता शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
त्यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १५ प्रतिशत बोनस शेयर वापत्को ४ लाख १८ हजार ३२६ दशमलव ४६ कित्ता शेयर पनि सोमवारनै सूचीकृत भएको छ । दोस्रो बजारमा सूचीकृत भएसँगै मंगलवारदेखि यी शेयरहरू कारोबारयोग्य हुनेछन् । सम्बन्धित कम्पनीका शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा उक्त बोनस शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चैत २३ गते सम्पन्न ५७ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर कारोबारयोग्य बनाएको हो । बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत यस वर्ष कम्पनीले शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सोही सभाबाट पारित गरेको छ ।
साधारण सभा प्रयोजनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्न सक्नेछन् । १५ प्रतिशत बोनस शेयरपछि साल्ट टट्रेडिङ्ग कर्पोरेशनको चुक्तापूँजी ३२ करोड ७ लाख १७ हजार रूपैयाँ कायम भएको छ ।
त्यस्तै डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस शेयरपछि चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख ९७ हजार रूपैयाँ कायम भएको छ । डिप्रोक्स लघुवित्तले गत चैत २५ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि चैत १५ गते एक दिन बुक क्लोज गरेकाले डिप्रोक्स लघुवित्तको बोनस शेयर चैत १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया