२०८० पुस १२ गते
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने बाँकी उद्योगको लाइन काट्ने घोषणा गरेका छन्।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। अहिलेसम्म प्राधिकरणले नौ उद्योगको लाइन काटिसकेको जनाएको छ। उनले तत्काल बक्यौता नतिरे क्रमिक रूपमा लाइन काट्ने बताए। प्राधिकरणका अनुसार मंसिर मसान्तसम्मको तथ्यांकअनुसार ६१ उद्योगले यसबापत तिर्न बाँकी २२ अर्ब २४ करोड छ।
प्राधिकरणले बक्यौताको हिसाब सार्वजनिक गर्ने क्रममा उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनबाट उपलब्ध गराएको विद्युतको क्षमता पनि उल्लेख गरेको छ। विवरणमा जगदम्बा स्टिलले सबैभन्दा धेरै ४ अर्ब १४ करोड रुपैयाँ तिर्न बाँकी देखिएको छ।
लोडसेडिङ अन्त्य भएपछि तीन वटा उद्योगलाई ट्रंक लाइनमा जोडिएको देखिएको छ। नारायणी स्पात मिल्स, जगदम्बा इन्टरप्राइजेज र श्री सिद्धिलक्ष्मी स्टिललाई ट्रंक लाइनबाट बिजुली दिएको र त्यसबापत १ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत अनुरोध गर्दा पनि अटेरी गरेपछि बाध्य भएर लाइन काट्न सुरु गरेको प्रष्टीकरण दिएका छन्।
त्यसमा १२ अर्ब ५० करोड बक्यौता भएका चार उद्योगको गत शुक्रबार र आइतबार पाँच उद्योगको लाइन काटिएको थियो। अब बाँकी रहेका अन्य उद्योगको पनि लाइन काट्ने उनको घोषणा छ।
यद्यपि, उद्योगीले बक्यौता तिर्न आए सहजीकरण गर्न तयार रहेको उनको भनाइ छ।

प्रतिक्रिया