२०८२ साउन २१ गते
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स (नाइमा) को प्रदर्शनी आज बुधबारदेखि भृकुटीमण्डमा शुरु भएको छ । अर्थमन्त्री विष्ण्प्रसाद पौडेलले उद्घाटन गरेको यो प्रदर्शनी पारिवारिक प्रदर्शनी हुने बताइएपनि प्रवेशद्वार कट्ने बित्तिकै भड्किलो पहिरनमा सवारीसँगै टाँसिएर बसेका युवतीहरुका कारण भने केही असहज पाइएको छ । विभिन्न ब्राण्डका गाडीसँगै अमर्यादित र उश्रृङ्खल पहिरन लगाएर बसेका युवतीका हाउभाउले अवलोकनकर्ताहरुलाई असहज बनाएको हो । युवतीहरुको पहिरन हेर्दा लाग्छ, अटो शो होइन कि युरोपको कुनै क्लबमा छिरिएको हो ।
चार पाङग्रे सवारीसाधनको बिक्रीका लागि गाडी कम्पनीहरुले ग्ल्यामरस लुक्समा युवतीहरुलाई गाडी अघि उभिन लगाउने ट्रेन्ड केही विदेशी मुलुकहरुमा छ । बिक्रिको यो शैली नौलो नभएपनि भद्दा पहिरनमा उभिएका युवतीका हाउभाउले भृकुटीमण्डपमा गाडी अवलोकनका लागि पुगेका अवलोकनकर्ताहरुलाई भने असहज बनाएको छ । गाडी खरिद गर्न पुगेका एक अधबैंशे जोडीले गाडी खरिद गर्ने हिसाबले आएको मानिसलाई गाडीसँग मात्र मतलव हुने भन्दै अटो शोमा युवतीलाई अर्धनग्न बनाएर राख्ने प्रवृत्ति रोकिनुपर्ने बताउँदै थिए । उनीहरु मिडियाकर्मीसँग प्रश्न गर्दैै थिए,'कस्तो हेर्न असहज हुने बनाइयो, यो अटो शो कि युवती शो ?'

युवतीहरु वस्तुका रुपमा प्रदर्शनीमा सहभागी हुन मञ्जुर हुनुनै गलत रहेको र आयोजकले यस्ता भड्किलो कुरालाई निरुत्साहित गर्नुपर्ने आयोजक मध्येकै एक स्टलका सञ्चालक बताउँछन् । 'यस्तो शो पारिवारिक शो हो, सबै उमेर समूहले अवलोकन गर्ने कुरा हो,यसरी केही युवतीहरु अमर्यादित पहिरनमा बसिरहँदा अप्ठेरो अनुभव हामीले नै गरिरहेका छौँ,'उनी भन्दैथिए ।

नाइमा अटो शो सञ्चालन अवधिभरी केही अटो कम्पनीहरुले मोडलिङ प्रयोजनका युवतीहरुलाई दैनिक ५ देखि ७ हजारसम्म तिरेर सहभागी गराएको पाइएको छ । नाइमा अटो शो साउन २१ गतेदेखि २५सम्म पाँच दिन चल्ने छ । अटो व्यापारीहरुको पुरानो संस्था नाडाबाट अलग्गिएर करिब ३ महिनाअघि नाइमा बनेको हो ।नाइमाले यो शो हालसम्मकै उत्कृष्ट शो हुने दाबी गरेको छ ।


प्रतिक्रिया